यसपालीको नया वर्ष २००७मा केही धेरै काम गरौला भनेर नयाँ नयाँ कुराहरु सोँच्दा सोँच्दै मौनताले अनायासै छोपिदियो । त्यसैले वैशाखको महिनामा पनि हरियो-परियो बनेर भनेजस्तै तरिकाले पलाउन हम्मे परिरहृयो व्यस्तताको घुइँचोले । ममा कुनै आलश्यताले बास लिएको पनि होइन र मैले गर्नै नचाहेको पनि होइन । तर मौनतालाई चिर्न नसक्दा कुहिरोको कागसरी त्यसै त्यसै अल्मलिरहेँ । सायद त्यसैले होला, कलमको टुँडो घोटेर भावनाहरु, विचारहरु पाठकहरुको सामु सम्प्रेषण गर्न पछि परिरहेछु । तर्सथ, मौनता कसैलाई नर्छाई देओस् जस्तो लाग्छ । किनकी मौनता छाउनु नै कामको लागि वाधक बन्न पुग्दछ । यहाँ हङकङमा मलाई मौनताले अङ्गालो हाले पनि उता नेपालमा भने सम्विधान सभाको चुनावी हल्लाले देश तात्नसम्म तातेको छ । सम्विधान सभाको चुनाव पार्टीका नेताहरुले मिति तोके पनि निर्वाचन आयोगले प्राविधिक कारण देखाई चुनाव गर्न नसकिने परिपत्र नेपाल सरकारलाई पठाए पछि चुनावी नारा स्वतः सेलाएको छ । अहिले नेपालमा सम्विधान सभाको चुनाव कहिले होला भनेर पार्टीका नेताहरु एकार्कामा दोषारोपण गर्दै अड्कलबाजीमा भुलिहेछन् । जसले गर्दा राजावादीहरु अवश्य पनि भित्रभित्रै रमाई रहेका होलान्, अझ सम्विधान सभाको चुनावै नभई देओस् भनेर पुकार पनि गर्दा हुन् । एक दशकको द्वन्दपछि बल्ल बल्ल देशमा शान्ति छाउँदासमेत सम्विधान सभाको चुनाव ओझेलमा पर्नु निश्चय नै जनताको भावना र गणतन्त्रको लागि खतराजनक हुन्छ । त्यसैले चाँडोभन्दा चाँडो, माओवादी सहितको आठदलले सहमतिको आधारमा निकास खोजी सम्विधान सभाको चुनाव गराउनु र राजतन्त्रलाई विधिवत रुपले समाप्त गर्नु एउटा ठुलै चुनौती र दायित्व वन्न पुगेको छ ।मेरो मौनतालाई भङ्ग गर्ने यस्ता अनेकौ प्रसङ्गहरु नआएका पनि होइनन् तर मौन बन्नु पर्ने अनेकौँ वाध्यता र विवशताहरु मसँग मात्र हौइन हामी सबैसँग छ । हङकङमा सधै कामको असार साउन हुन्छ । जसले गर्दा फुत्किनै पाइँदैन, यसो गर्छु, उसो गर्छु, यो परिवेशमा मिथ्या कल्पना जस्तै मात्र बन्न पुग्छ । त्यसो त मनमा सोँचेजस्तै काम गरौँ जस्तो लाग्छ तर दिनचर्याको भागदौडले कहाँ पो भनेजस्तो काम गर्न पाइएको छ र ? यस्तै कामहरुको घुँइचोमा पनि शुभचिन्तकहरुले कार्यक्रमको लागि निमन्त्रणा पठाउनु हुन्छ । आउनु पर्यो भन्नु हुन्छ, नगइ पनि भएन । हुर्रिएर टुप्लुक्क पुग्नै पर्यो, फेरि पर्याप्त समय हुँदैन, बीचैमा टाप ठोक्नु पर्छ, विदा लिएर हिँड्ने त कुरै छैन । वीवीक्यूमा, अधिवेशनमा, प्रवचनमा अब कहाँ कति ठाउँ पुगेर साध्य भो र ? एकै दिनमा ६, ७ ठाउँमा कार्यक्रम भएपछि एउटा ज्यानलाई कति ठाउँ बाँड्ने, कति ठाउँ चुँड्ने ? अब नपुगी नहुने ठाउँमा त निन्द्रा मारेर हुन्छ कि दश काम छोडेर हो, पुग्नै पर्यो । आउँला भनेर कति आशा गरेका हुन्छन्, चित्त दुखाउने कुरा पनि भएन । समझदार हुन खोज्दा यस्तै चेपारोमा परिंदो रहेछ । कहिलेकाँहि, अरुको प्रसन्नताको लागि पनि दुःख खप्नु पर्ने हुन्छ । कुरा गरेर साध्यै छैन, यस्तै छ हङकङको बाह्रमासे हालचाल ।मौनताले नछोडे पनि नयाँ वर्ष २०६४ को आगमनलाई शुभकामनामा परिणत गरी, सन्देश र शब्दहरुमा बोलौँ भनेर इमेलदेखि एसएमएससम्म पठाउने काम गरेँ । टेलिफोनमा भेटिएला कि भनेर टेलिफोनको घण्टीसमेत बजाउने काम गरियो तर धेरै आफन्त र साथीहरुको मोवाइल र टेलिफोनको लाइन नै काटी सकेको रहेछ । जसले गर्दा मलाई लाग्यो, हङकङको कङ्क्रिट जङ्गलमा धेरै आफन्त र साथीहरु बिलाई सकेछन् । नत्रभने, त नयाँ वर्षको सुखद अवसरमा भेटिईनु पर्ने हो, त्यही आर्श्चर्य लाग्छ । कि, साथीहरु र आफन्तहरुको लागि मै पो हराएँ - हराएँ भनौँभने, समय समयमा सभा, समारोह, गोष्ठिहरुमा यो गोल नमिलेको अनुहारलाई प्रदर्शन गर्दै आएको छु । तर यसपाली धेरै आफन्तजन र साथीहरु हङकङबाट एकाएक बिलाएको महसुस गरे । बिलाउनेको कारणमध्ये हङकङबाट धमाधम बेलायततिर बर्साई हिड्नेको ताँती लाग्नु पनि हो । कहिलेकाँहि यस्तो पनि लाग्छ, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु हङकङबाट बेलायततिर र्सछन् । अब बेलायतवाट चाहिं कतातिर सर्ने हुन्, थाहा छैन । तर धन्दा मान्नु पर्दैन, किनकी हालसालै वैज्ञानिकहरुले एउटा विकल्प सुल्झेकाछन् । त्यो हो पृथ्वी जस्तै उपयोगी अर्को नया ग्रह, सायद अब नेपालीहरुको गन्तव्य त्यतैतिर हुन्छ होला । पृथ्वीमा त नेपाली नपाईने ठाउँ कहाँ होला र ?नयाँ वर्षको सौगात लिएर उपस्थित होऔं भन्दाभन्दै वैशाखै पो बितेछ । मौनता चिर्न पनि साह्रै गाह्रो हुँदो रहेछ । बल्ल आज कसो मौनतालाई उछिन्ने मौका पाएँ र त यी शब्दहरु लेखिटोपल्दै छु । हङकङमा पनि नेपाली साहित्यको लागि नव केन्द्र स्थापना हुँदैछ भन्ने कुरा कथाकार द्वय प्रकाश के.सी. र प्रदीप कन्दङवाले नयाँ कृति उपन्यासको लागि भरमग्दुर भएर लाग्नु नै त्यसको पूर्वाभाष हो । साथै यो नयाँ वर्षको आगमनसँगै उपहारस्वरुप नयाँ कुराको अनुभव पनि बटुल्ने मौका पाईयो । त्यो थियो ‘मोडेल कवि’ । सुन्दा अनौठो लाग्न सक्छ, कतै कविता लेख्ने कवि, कविता लेख्न छोडेर ‘मोडल’ बन्न जान्छ ? तर बन्नै पर्यो, यस वेबका सम्पादक प्रकाश के.सी.जीको प्रस्ताव र नयाँ परिकल्पनाले खर्लप्पै निलेपछि । आखिर यो वेब साइटको लागि ‘मोडेल कवि’ बनेरै छाड्यो यो कलमकार । यो आफैमा नयाँ वर्षको नयाँ संयोग थियो । मेरो मोडेल कर्म देखेर लेखिका लारा बहिनी जिस्क्याउँछिन् । ‘दाई त हिरो पो दखिनु हुन्छ’ भनेर । त्यति मात्र कहाँ हो र ? कवयत्री अर्की बहिनी आशा राई विदीर्ण पनि त्यस्तैखाले कुरा गरेर अप्ठ्यारोमा पार्छिन् । जे होस् नयाँ वर्षले मेरो मौनतालाई एउटा छुट्टै र नौलो ढङ्गले तोड्ने सौगात बर्सिदियो । त्यो मेरो लागि हर्षकै कुरा भयो यो वर्षको लागि ।
No comments:
Post a Comment