समय अत्यन्तै वेगवान हुन्छ न छेकेर छेक्न सकिन्छ न रोकेर रोक्न सकिन्छ । केवल एकहोरो नदीको प्रवाह झैं सलल वगिरहन्छ । त्यही समयसंग वाधिएर केही न केही सृजनामा वाधिन पाए हुन्थ्यो भन्नेलाग्छ । त्यही मनलाई अरु केहीमा वाध्न नसके पनि शव्दहरुसंग,विचारहरु वांध्न ठूलो कोशिस जारी गर्छु त्यो कोशिस केही नभए पनि केही भए झैं लाग्छ र आशाका मुनाहरु पलाउन थाल्छन् । मानौ. म केही त गरिरहेको छु कि जस्तो भान मलाई हुन्छ । र झन उत्साहित हुन्छु जाने नजानेका कुराहरुलाई जोड्न । साहित्यको नाममा सृजनाका शव्दहरु जोड्छु घटाउछु, चित नवुझे च्यातेर फाल्छु । आम साहित्य कर्मीहरु के कसो गर्छन् त्यो त मलाई थाहा छैन तर मेरा भने वानी यस्तै प्रकारको छ । कलम कर्मी हरेकले केही न केही सृजना गर्छन गरिरहेका हुन्छन् । त्यो हुनु पनि पर्दछ । त्यसरी सृजना भएन भने त नया कुराको जन्म नै हुदैन । लाग्छ संसार पुरानो हुदै गए पनि सृजना चाहि नयां नयां हुदै जान्छ त्यो आम मान्छेको माग र चाहाना वन्दै गएको छ । त्यही सृजनाको नाममा कतै एक वोरा चामलको सट्टामा एक वोरा भुस मात्र जम्मा गरिरहेका छैनौ- यो कुरालाई राम्ररी चिन्तन मनन गर्नुपर्नेहुन्छ । जहां सम्म मलाई लाग्छ जति पनि लेखिन्छन,लेखिए र लेखिनेछन् तिनीहरु सवै अव्वल दर्जाका हुन्छन् भन्न सकिन्न । उदाहरणको लागि यो संसारमा भने जस्तो सग्लो मान्छे मात्र कहां पाइन्छ र - वास्तवमा सृजनाको कुरा पनि त्यस्तै हुनुपर्दछ जस्तो लाग्छ । हंगकंग भूमिलाई उपयोग गर्दै धेरै कलम कर्मीहरुले आफ्नो हात साहित्यको उर्वर फांटमा दौर्डाई रहनुभएको छ । यो पर्राई भूमि वर्साईको अत्यन्तै राम्रो पक्ष हो । कामको चापाचाप संगै आफ्नो विचारहरु,भावनाहरु प्रस्फुटन गराएर पाठकहरुको आंखा सम्म पुर्याउनु निक्कै ठूलो साहस व्युझाउनै पर्छ । नत्र भने छेपाराको कथा मात्रै वन्न जान्छ । हामी यहां वसेर के लेखिरहेकाछौ र कस्का लागि लेखिरहेका छौं । भन्ने कुराको जानकारी लेखक स्वयमलाई पनि अवागत हुनुपर्छ । र आजको युगमा लेखिने र सम्प्रेषण गरिने समग्री कस्तो हुनु पर्दछ भन्नेकुराको ज्ञान त झन अपरिहार्य नै छ । कतिपय कलम कर्मीहरु दुइचारवटा लेख रचना लेखेर छापेको भरमा दुइचार साहित्यिक किताव पढेको भरमा म त साहित्यकार हुं भनेर सोच्नु त्यही साहित्यकार हुनेको मपाईंत्व प्रदर्शन मात्र हो अरु केही होइन । साचै साहित्यकार वन्नलाई त एउटा सम्पूण जीवन साहित्य निर्माण मै समाहित गर्नुपर्दछ अथवा अर्पिनु पर्दछ । तव मात्र त्यो व्यक्ति साहित्यको पारखी वन्न पुग्छ । साहित्य वुझ्न र ज्ञान आर्जन गर्नको लागि मस्तिष्कमा दायरा फराकिलो र अध्ययनको गहिराइमा डुव्न सक्नु पर्दछ । साच्चै भन्ने हो भने विना अध्ययान राम्रो साहित्यको निर्माण गर्न र वुझ्न कदापि सक्दैनौ । जव हामी निर्लिप्त भएर जुन कुरामा लाग्छौं अवश्य नौलो ज्ञानको प्राप्ती हुन्छ । त्यही प्राप्तिलाई आफ्नो भावनात्मक विषयवस्तुमा मुछेर नयां विचार हो आकार दिन्छौं अथवा अविष्कार गछौं । हो त्यो नै पाठकहरुको लागि नौलो स्वादको मीठो परिकार वन्न पुग्छ । अनि सवैले आफ्नो दिमाग चोपी चोपी त्यो विषय वस्तु वा सृजनालाई खुराक वनाइ दिन्छन् । वास्तवमा यस्तो सृजनाको कलात्मक घर वनाउन लेखकको सीपमा भर्रपर्दछ । कला सृजनामा जिवन जस्तै वाचेको हुन्छ सुन्दर भएर । हरेक वस्तुमा कलाको लेपन अकर्ष ढंगले पोत्न सकियो भने कुरुपता त्यसै विलाएर जान्छ र स्वीकार योग्य वनिदिन्छ । मनन र चिन्तन गर्नुपर्ने अर्को कुरा के हो भने आजको युग विज्ञानसंग जोडिएको छ । हरेक कुरा क्षणभर मै परिवर्तन भइरहेको हुन्छ । जस्तै यहां आज सत्य भनिएको कुरा अर्को दिनको उज्यालो नहुदै उत्ता असत्य सावित भइसकेको हुन्छ । यस्तो समयलाई क्षण क्षणमा देख्न,जान्न र वुझ्नु पर्ने हुन्छ । यदि यी कुराहरु ओझेलमा परे भने हामी आदिम भइसकेका हुनेछौं । म उहिले लेख्थे,अहिले लेख्छु भन्नुमा दुइवटा युगको प्रतिविम्व पाउछौं । युग र चाहाना अनुरुप कुनै पनि सृजना पस्कन सकिएन भने पाठकहरुको मनलाई आफु तिर फर्काउन कहिले पनि सकिन्न । र त्यसो गर्नु आफ्नै समयको वर्वादी मात्र हुन जान्छ । समयको परिवर्तन संगै मान्छेको मनस्थिति पनि परिवर्तन भएर जाने भएकोले यात्रा पनि सोही वमोजिम तय गर्नुपर्ने हुन्छ । किनकि आजको युग भन्नु नै परिवर्तनको अर्को पाटा हो । वास्तवमा साहित्यमा पनि त्यस्तै नौलो कुराको आभाष हो ,उपज हो । जहां हामी कलमको सहाराले विचारको सुदुर यात्रामा भावना डोर्याउदै हिड्छौं । यसरी निरन्तर निरन्तर लागी परे निश्चय नै गन्तव्यमा पुग्न धरमराउनु पर्दैन । कलमको यात्रा भनेको विचार र विवेकको यात्रा हो । जति लेख्दै गयो उति लेखाइहरुमा नौला क्षितिजहरु देख्दै गइन्छ । जति क्षितिज पार गरे पनि अन्तिम क्षितिज भने कहिल्यै छुन सकिन्न । त्यसैले त मैले एउटा साहित्यकार वन्नलाई सारा जिवन नै होम्नुपर्छ भनेको हुं । साहित्यमा अनेकौ विचार र वादहरु हिजो प्रतिपादन भए आज हुदैछन् भोलि हुदै जानेछन् । अङगीकार गर्नु हाम्रो चुनौतिपूण कार्यहरु हुन् । कुन केहो - कस्तो हुन्छ - भन्ने छुट्याउनु हाम्रो कर्तव्य पनि हो । भनिन्छ साहित्य समाजको दर्पण हो । मानव जिवनको हरेक पक्षलाई समेट्ने हुदा साहित्यमा घण्टौं डुवुल्की मार्छन पाठकहरु । यदि भाषामा साहित्य नहुनु हो भने भाषा मरुभूमिको वालुवा जस्तै हुन्छ । साहित्य भाषाको रुपरङ हो, सुन्दर छटा हो जसको चमक हामीले अध्ययन गरेर ज्योतिर्मय भएको पाउछौं । जहां हामी वाचेका छौं त्यो साहित्यकै आसपास हो । जिवन र जगतलाई विर्सने हो भने त्यहां शुन्यता वाहेक अरु केही कल्पना गर्न सकिन्न । साहित्य एउटा माध्यम हो रंगीन दुनियालाई पोत्ने । त्यसैले साहित्य हाम्रो जिवन हो जहां हामी वाचेका हुन्छौ ।
No comments:
Post a Comment